२३ भदौ, बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी हुँदा पशुधनी किसानलाई भत्ता दिने निर्णय गरेको छ  | 

सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने बताएको छ | 

भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको २ महिनाभित्र वडा कार्यालयको सिफारिस नगरपालिकामा निवेदन बुझाउनुपर्ने नियम छ । वडाबाट सिफारिस आएपछि नगरपालिकाको पशु सेवा शाखाका कर्मचारीहरु गोठमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई नगदै भत्ता दिइने नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक सहायक विजय खनालले बताए ।

पशु सुत्केरी भत्ताका लागि नगरपालिकाले यो वर्ष २० लाख रुपैयाँ वजेट छुट्याएको खनालले जानकारी दिए । एउटै मात्र गाई वा भैंसी सुत्केरी हुनेदेखि व्यवसायिक किसान सबैले सुतकेरी भत्ता पाउने कार्यविधि बनेको छ । नगरपालिकाका १० हजार घरधुरीमध्ये ६० प्रतिशत भन्दा बढी परिवारले पशुपालन गरेका नगरपालिकाको आंकलन छ ।

Comments

Leave a comment