१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाए  । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्थाअनुसार खतिवडाले राजीनामा बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

२०७४ सालको फागुनमा अर्थमन्त्री हुनुभएका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गएको फागुनमा सकिएको थियो । तर राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उहाँले फागुनमा दोस्रो पटक सपथ लिनुभएको थियो ।

अहिले भने नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिनुभएको हो । उहाँको राष्ट्रिय सभाको पदावधि भोलि शनिबार सकिँदैछ ।

बिदाइको क्षणमा समेत अर्थमन्त्रीमा पद गुमेको भाव भने नझल्किएको अर्थमन्त्रालयका एक सहसचिवले बताए । मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

Comments

Leave a comment