डोल्पा, ९ भदौ (रासस)

 असिनापानीका कारण डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका  कृषकले लगाएको अन्नबाली र विकास योजनामा ठुलो  क्षति पुगेको छ ।

असिनापानीका कारण  गाउँपालिमा  गहुँ, उवा, फापरलगायत अन्नबालीमा ८० प्रतिशतभन्दा बढी क्षति पुगेको वडा नं ४ का अध्यक्ष पेमावाङ्छेन गुरुङ्गले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन÷चार महिनाको लामो खडेरीपछि परेको असिना पानीले गर्दा यहाँका फापर, गहुँ, उवालगायत अन्नबालीमा क्षति पुगेपछि कमाइको मुख्य स्रोतमै असर परेको छ ।” वर्षभरि खानका लागि लगाइएको अन्नबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको छ ।

“यो वर्ष यार्सागुम्बा पनि टिप्न पाइएन्, अन्नबाली पनि सबै सखाप पा¥यो, जिविकोपार्जन कसरी गर्ने भन्ने ठूलो पीर परेको छ”, वडाध्यक्ष गुरुङ्गले भन्नुभयो । सोही वडाका किसान तेन्जिन टासी गुरुङ्गले असिना र पानीले आफ्नो चारवटा खेतमा लगाइएको उवा फापर सबै सखाप पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण आय आर्जनका सबै बाटो बन्द भएकाले जीवन गुजारा गर्ने भनेकै अन्नबालीले हो, त्यो पनि सबै सखाप पारिसक्यो, अब कसरी आफू र आफ्ना परिवार पाल्ने ठूलो चिन्ता परेको छ ।” उहाँले क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

 

Comments

Leave a comment