चैत्र ३० एजेन्सी 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अमेरिकामा मर्नेको संख्या २० हजार नाघेको छ। आइतबार बिहानसम्मको तथ्यांकका आधारमा २० हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिकाको न्यूयोर्कमा मात्र ६ हजार ३६७ को ज्यान गएको छ। यसैगरी ५ लाख २७ हजार १११ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ३१ हजार ४२४ जना निको भएका छन्।

गत डिसेम्बर ३१ मा पहिलो पटक पत्ता लागेको भाइरस हालसम्म विश्वभर १७ लाख ७३ हजार ३३८ मा पुष्टि भइसकेको छ। जसमध्ये ४ लाख २ हजार २७० निको भएका छन् भने १ लाख ८ हजार ७०२ जनाले ज्यान गुमाएका छन्।

यसैगरी स्पेनमा १ लाख ६३ हजार २७ मा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५९ हजार १०९ जना निको भएका छन् भने १६ हजार ६०६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ४६८ पुगेको छ। केही दिनदेखि नयाँ संक्रमण दर घटेको त्यहाँ १ लाख ५२ हजार २७१ संक्रमित भइसकेका छन्।

सुरुवाती केन्द्रविन्दु रहेको चीनमा ९९ सय नयाँ संक्रमित भेटिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ। जसमध्ये ९७ जना अन्य देशबाट आएका यात्रुमा संक्रमण पुष्टि भएको हो। तर गत २४ घण्टाभित्र कसैको पनि मृत्यु नभएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

Comments

Leave a comment