कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि ? अब ढुक्क हुनुहोस् । तपाई त्यो हैरानीबाट मुक्त हुँदै हुनुहुन्छ । आजदेखि कोभिड–१९ का आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिन सक्नुहुनेछ । सँगै मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन प्रणालीकोसमेत शुरु गरिएको गृहमन्त्रालयले जनाएको छ ।  यसलाई गृहमन्त्रालयले ‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिएको छ ।

यसरी सूचना प्राप्त गर्न तपाईले एउटा वेबसाइट हेर्नुपर्नेछ । गृहमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि उक्त वेब सञ्चालनमा ल्याएको हो । ब्राउजरमा गएर लगइन गरेपछि त्यहाँबाट सबै सूचना प्राप्त गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । वेबमा भएको ताजा विवरणअनुसार आजसम्म सङ्क्रमित आठ जना उपचारकै क्रममा छन् । एक जना उपचारपछि फर्किसकेका छन् । आज हजार १६६ जना क्वारेन्टाइनमा छन् । १३१ व्यक्ति आइसोलेसनमा छन् ।

Comments

Leave a comment