भरतपुर, ३ असोज  
चितवनमा नदीजन्य सामग्री उत्खननका लागि स्थलगत अध्ययन थालिएको छ । जिल्ला समन्वय समिति चितवनले ढुंगा, गिटी र बालुवा उत्खननको स्वीकृत दिनका लागि स्थलगत अनुगमन थालेको हो । जिल्ला समन्वय समिति चितवनका सुचना अधिकारी बद्रीनाथ सापकोटाका अनुसार नदीजन्य सामाग्री उत्खननको स्वीकृत दिनका लागि भरतपुर महानगरपालिकाका नारायणी त्रिशुली नदीको बगर लगायतका क्षेत्र अध्ययन गरिएको छ । 

‘जिल्लामा वातावरण प्रभाव मुल्याङ्कनका आधारमा नदीजन्य सामग्री उत्खननको स्वीकृत दिन स्थलगत अध्ययन थालेका छौँ’,  सापकोटाले भन्नुभयो, ‘आईईई प्रतिवेदनले तोकेको मापदण्ड पुरा भएको क्षेत्रलाई उत्खनन गर्न स्वीकृत दिन्छौँ ।’ जिल्ला समन्वय समिति चितवनले शुक्रबारबाट जिल्ला भित्र रहेका खोला, नदी र आईईई अनुसार गर्न सकिने नदीजन्य सामग्रीको अध्ययन शुरु गरेको हो । केही सातामा जिल्लाका सम्भावित क्षेत्र अध्ययन गरेर उत्खननका लागि स्थानीय तहलाई स्वीकृत दिने सापकोटाले जानकारी दिनुभयो । घना वन र वस्ती क्षेत्रमा कम्तिमा दुई किमि टाढा, राजगमार्गको क्षेत्रमा पाँच सय मिटर, झोलुङ्गे पुल र सडक पुलमा एक किलोमिटर टाढा मात्र वातावरण प्रभाव मुल्याङ्को आधारमा नदीजन्य सामग्री  दिन मिल्ने व्यवस्था छ । त्यसैगरी स्वीकृत गरिएको क्षेत्रमा अधिकत्म एक मिटर गहिराईसम्म मात्र उत्खनन गर्न पाईने सापकोटाले जानकारी दिनुभयो । आईईई स्वीकृत गर्न भन्दा अगाडी प्रत्येक बर्ष जिल्ला समन्वय अधिकारी संयोजक रहने नदीजन्य सामग्री उत्खनन सिफारिस समितिले अनुमन गर्ने गर्दछ । यस समितिले वातवरण प्रभाव मुल्याङ्कन(आईईई)को आधारमा उत्खननका लागि स्थानीय तहलाई अनुमति दिने गर्दै आएको छ ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पनि नदीजन्य बस्तुको उत्खनन बढिमात्रमा हुने गरेको छ । त्रिशुली नदी क्षेत्रको  कुरिनटार,  बारबांग, रिग्दी, स्यांदी, काली, थांग, खगेरी खोलामा उत्खनन हुने गर्दछ । त्यहाँबाट बार्षिक एक लाख २७ हजार दुई सय ४८ घनमिटर नदीजन्य सामग्रीको उत्खनन हुने गर्दछ । यस्तै, कालिका नगरपालिकाका थांग र बुंग खोला र माडी नगरपालिकाको मगुई खोलामा नदीजन्य सामग्रीको उत्खखन हुँदै आएको छ । गत बर्ष मुगई खोलाबाट ५३ हजार १ सय ५० र थांग र बुंग खोलाबाट ५० हजार ४ सय १८ घनमिटर ढुंगा गिट्टी बालुवाको उत्खनन भएको थियो । रत्ननगर नगरपालिकामा भने नदीजन्य सामग्रीको उत्खनन हुने गरेको छैन । चितवन जिल्लामा अहिले नदीजन्य सामग्रीबाट स्थानीय तहलले १० करोड रुपैयाँ बराबरको राजश्व उठाउने गर्दछन् ।  

Comments

Leave a comment