बालुवाटारमा मंगलबार साँझ पाँच घन्टा चलेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा उठेका विषय र नोकझोक विस्तारै खुल्दै गएका छन्।

मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर स्वास्थ्य लाभ गर्दै गरेका प्रधानमन्त्री केपी ओली सुरूमै दुई घन्टाभन्दा लामो बोलेपछि साढे ४ बजे सुरू बैठक राति साढे ९ बजेसम्म लम्बिएको थियो।

बैठकमा स्वास्थ्य सामग्री खरिद विवाद र पछिल्लोपटक सेनालाई जिम्मा दिने निर्णयदेखि आफूहरूसँग जोडिएका अन्य विषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सवालजवाफसम्म भएको थियो।

‘दुई अध्यक्षबीच झन्डै भनाभनजस्तो अवस्था आयो,’ एक सचिवालय सदस्यले  भने।

बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सचिवालय सदस्यले नै आफूलाई विभिन्न विषयसँग जोडेर निरन्तर बदनाम गर्ने प्रयास गरेको भन्दै असन्तुष्टि पोखेका थिए। उनले ती सदस्यलाई कारबाही गर्नुपर्ने मागसमेत गरे।

दुई अध्यक्षबीच व्यक्तिगत विषयमा सवालजवाफ चलेपछि माहोल केही असजिलो भएको एक सचिवालय सदस्यले बताए।

बैठकमा सचिवालय सदस्यहरूले स्वास्थ्य सामग्री आयातमा भएको अनियमितता र पछिल्लोपटक सेनालाई नै सामान किन्न दिएको दुई मुद्दा उठाएका थिए, जसमा प्रधानमन्त्री ओलीले प्रस्ट जवाफ नदिएको एक सदस्यले बताए।

सेनालाई स्वास्थ्य सामग्री ल्याउन दिएको विषय त प्रधानमन्त्रीले लुकाउनै खोज्नुभयो,’ एक सदस्यले भने।

ती सदस्यका अनुसार ओलीले सुरूमा सेनालाई औषधि ल्याउन दिने निर्णय भएको होइन भनेका थिए। जवाफमा सचिवालय सदस्यहरूले 'नेपाली सेनाले पत्रकार सम्मेलन नै गरेर स्वास्थ्य सामग्री ल्याउने जिम्मा पायौं भनिसक्यो' भने।

त्यसपछि प्रधानमन्त्रीले 'त्यस्तो केही होइन' भन्दै विषय अन्यत्र मोडेका थिए।

'सेनाको बारेमा उहाँको कुनै स्पष्ट कुरा थिएन, अलमले कुरा थियो,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने, 'सुरूमा निर्णय नै होइन भन्ने थियो। सेनाले पत्रकार सम्मेलन गरेर जानकारी दिइसक्यो भनेपछि त्यस्तो केही होइन भनेजस्तो कुराकानी गर्नुभयो। जे होस् स्पष्ट कुरा गर्नुभएन।'

स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई दिइसके पनि सरकारले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। सेनाले भने आइतबार भिडिओ कन्फरेन्स गरेर 'रक्षा मन्त्रालयले स्वास्थ्यसँग समन्वय गरेर जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री ल्याउन सेनालाई जिम्मेवारी दिएको' जानकारी गराएको थियो।

सरकारी निर्णयअनुसार औषधि खरिदका लागि सेनाले विभिन्न देशसँग पत्राचार गरिसकेको छ। ती देशमा रहेका सैनिक सहचारीमार्फत् खरिदका लागि पहल भइरहेको सेनाले बताएको छ। समाचार स्रोत सेतो पाटी 

Comments

Leave a comment