जेठ ३० काठमाडौ 

प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथामविरुद्धको लडाइँमा सुरुदेखि नै सरकारलाई साथ दिँदै आयो। प्रमुख प्रतिपक्षी दलको भूमिलाई लिएर आलोचना भइरहेका बेला पनि कोरोनाविरुद्ध ‘सरकारमा नरहे पनि सरकारसँगै’ रहेको प्रतिबद्धता जनाउँदै आएको कांग्रेसले अब भने सरकारविरुद्ध सशक्त रूपले प्रस्तुत हुने नीति लिएको छ।

‘सरकार जनताका समस्याप्रति संवेदनशील छैन, संकटपूर्ण अवस्थामा पनि अनियमितताका विषय आइरहेका छन्, यस्तो अवस्थामा सरकारलाई जनताप्रति जिम्मेवार बनाउन खबरदारी गर्छाैं,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘अब जनताबीच कांग्रेस जान्छ। सरकार सच्चिएन भने स्थिति हेरेर आन्दोलनको स्वरूप पनि परिवर्तन हुन्छ।’

प्रमुख प्रतिपक्षीसहित सबै राजनीतिक दल, नागरिक समाजलगायत सबै क्षेत्रको साथ पाउँदा पनि सरकार कोरोना नियन्त्रणमा असफल भएको र भ्रष्टाचारमा लिप्त भएको निष्कर्ष निकाल्दै कांग्रेसले सरकारविरुद्ध सडक र सदनमा सक्रिय र सशक्त रूपमा उपस्थित हुने निर्णय गरेको हो। सोमबारको केन्द्रीय समिति बैठकले ‘कोरोना महामारीमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचारविरुद्ध संघीय संसद्, प्रदेशसभा र सबै जिल्लामा सक्रिय र सशक्त रूपले प्रस्तुत हुने’ निर्णय गरेकै दोस्रो दिन संसद्मा कांग्रेस सांसद गगनकुमार थापाले त्यसको झलक दिए। ‘अब सरकारले कांग्रेसले उठाएका विषयमा जवाफ दिएपछि मात्रै सबै कुरा सुचारु हुने ठाउँसम्म पुगिन्छ। सरकारले सोचोस्। तयारी गरोस्। कांग्रेसले सरकारलाई सुतेर बस्न दिँदैन भन्ने सरकारले बुझोस्,’ सांसद थापाले भने।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र सरकारले कोरोना रोकथामका लागि गरेको खर्च अपारदर्शी भएको भन्दै स्वस्फूर्त रूपमा काठमाडौंलगायत मुलुकका विभिन्न सहरमा प्रदर्शन हुन थालेको छ। कांग्रेसले पनि लकडाउनमा भौतिक दूरी कायम गर्दै अनियमितताविरुद्ध भ्रातृसंस्थालाई परिचालन गर्ने तयारी गरेको छ। प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायतको नेतृत्वमा देशव्यापी सडक प्रदर्शन गर्ने आन्तरिक तयारी कांग्रेसको छ।

लकडाउनपछि भने सडक आन्दोलनलाई व्यापक बनाउने रणनीति बनाएको छ। सरकारको अकर्मण्यता र अनियमितताविरुद्ध कांग्रेस आक्रामक रुपमा प्रस्तुत हुनुपर्छ, प्रतिपक्षी भनेको सरकारले गर्न नसकेको काम गराउन बाध्य बनाउने पनि हो,’ कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘जिम्मेवारीबोधसाथ कांग्रेस अब जनताबीच जानुपर्छ, चुप लागेर बस्नुहुँदैन।’ उनले कोरोना नियन्त्रणदेखि सरकारलाई खबरदारी गर्न कांग्रेसले आमकार्यकर्ता परिचालन गर्नुपर्नेमा जोड दिए।

Comments

Leave a comment