काठमाडौँ

नक्कली प्रेसकार्ड बनाउँदै बिक्री गरेको आरोपमा पक्राउ परेकामध्ये एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कालिका प्रिन्टिङ सपोर्टका सञ्चालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । 

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नक्कली प्रेस कार्डदेखि स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बनाउने तीनजना र एकजना सेवाग्राहीलाई बागबजारबाट पक्राउ गरेको थियो । 

पक्राउ गर्न गएको प्रहरी टोली, बयान लिने प्रहरी र अस्पतालमा परीक्षण गराउन लैजाने प्रहरीलाई आइसोलेसनमा राखिएको महाशाखाका एसएसपी दीपक थापाले बताए । 
एसएसपी थापाले भने, ‘१९ जना प्रहरी कर्मचारीलाई होम आइसोलेसन वा होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ ।’ 

महाशाखाबाट डीएसपीको नेतृत्वमा टोली उनीहरुलाई पक्रन गएको थियो । प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरेको थियो । बरामद कार्डमा प्रेस लेखिएको थियो । उनीहरुले एउटा कार्डको ५०० रुपैयाँ लिने गर्थे ।

Comments

Leave a comment