काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल फेरि भरिएको छ । पटक–पटक क्षमता विस्तार गरिएको सिसडोलमा अब मुस्किलले दुई महिना मात्र फोहोर व्यवस्थापन गर्न सक्ने अवस्था छ । 

तर विगतमा पुरेर बाँकी रहेका केही खोल्साखाल्सीमा डोजर चलाएर अली-अली ठाउँ निकालियो । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ अब सिसडोलको ल्यान्डफिल साइटमा नयाँ ठाउँ निकाल्न नसकिने बताउँछन् ।

काठमाडौं उपत्यकामा दैनिक ८५३ टन फोहोर उत्पादन हुन्छ । उत्यकामा दुई महानगरसहित १८ स्थानीय तह छन् । भक्तपुर नगरपालिकाबाहेकका अन्य महानगर र नगरपालिकामा वार्षिक तीन लाख ७० हजार ८० टन फोहोर उत्पादन हुने गरेको छ । तर, उपत्यकाको फोहोर व्यवस्थापन १४ वर्षयता सिसडोलकै भरमा छ । सिसडोललाई निजी, गुठी र सार्वजनिक गरी ४५१ रोपनी जग्गा अधिग्रहण गरी तीन वर्षका लागि भनेर ०६२ मा अल्पकालीन ल्यान्डफिल साइट बनाइएको थियो ।

अब सिसडोलमा फोहोर फाल्न पर्याप्त ‘स्पेस’ छैन । विगतमा अधिग्रहण भएको बचेखुचेका कुनाकानी पनि भरिसक्यो,’ उनले सुनाए ।

सिसडोलको चरम उपयोग भइसकेको भन्दै श्रेष्ठले अब आउँदो वर्षातसम्म विकल्प तयार नगरिए काठमाडौ उपत्यकाबाट फोहोर उठ्न नसक्ने बताए ।

यो वर्षको वर्षायाममा लकडाउनका कारण होटल तथा रेस्टुरेन्टबाट निस्कने फोहोर लगभग बन्द थियो । धेरै श्रमिकले काठमाडौं छाडेकाले घर तथा कोठाहरुबाट पनि फोहोर पनि घट्यो । श्रेष्ठका अनुसार विगतकै दरमा फोहोर निस्किएको भए यही वर्षायाममा काठमाडौंको फोहोर फाल्ने ठाउँको अभाव हुने थियो । गत हप्ता केही दिन नियमित वर्षा भएपछि सिसडोलमा समस्या बल्झिएको हो ।

‘हामी सिसडोलमा जबरजस्ती फोहोर व्यवस्थापन गरिरहेका छौं, यसरी काम गर्दा समय-समयमा समस्या आइरहन्छ,’ वातावरण विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘अब सिसडोलको उपयोगको अवस्था चरम विन्दुमा पुग्यो, फोहोर पुर्न नयाँ ठाउँ छैन ।’

शहरमा निषेधाज्ञाका कारण पनि अहिले ठूलो मात्रामा फोहोर उत्पादन भएको छैन । तर, पनि फोहोर फाल्ने ठाउँ नै नभएपछि व्यवस्थापन गर्न महानगरपालिकालाई हम्मे-हम्मे परेको छ ।

सिसडोलमा १५ वर्षदेखि कोचाकोच

सिसडोलमा ल्यान्डफिल साइटको क्षमताले नभ्याएर धाँजा फाट्ने जोखिम आइसकेको महानगरका अधिकारीहरु बताउँछन् । साइटको क्षमता सकिएर पटक-पटक बढाइएको छ । अब क्षमता बढाउन पनि नसकिने भन्दै महानगरका अधिकारीले पटक-पटक सरकारलाई जानकारी गराएका छन् ।

सिसडोलको विकल्प नखोजिए काठमाडौंमा फोहोर नउठेर फोहोरकै प्रकोप सिर्जना हुने जोखिम रहेको महानगरका अधिकारीको आँकलन छ । ल्यान्डफिल साइट प्राविधिक रुपमा निकै कमजोर अवस्थामा सञ्चालन भइरहेकोले विकल्पका लागि भइरहेको काम तीव्र बनाउन महानगरको माग छ ।

२०६२ साल जेठ २२ गतेबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाविस (अहिले ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । सो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटले ३ वर्ष धान्ने अनुमान थियो ।

ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्यान्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

Comments

Leave a comment