म्याग्दी । बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम–कोरला सडकअन्तरगत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो । बेनी-जोमसोम–कोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ ।

चालीस मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । पाँच करोड ७६ लाख ८० हजार ५५६ को लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ । पुल हस्तान्तरण भएपछि सवारी आवतजावतका लागि खुल्ला गरिएको आयोजना प्रमुख अशोक तिवारीले बताउनुभयो । आयोजनाका अनुसार यो पुल प्रिस्टीङ प्रबिधिको हो । यसअघि घट्टे खोलाबाटै सवारी साधन आवतजावत गर्थे । पुल बनेपछि घट्टेखोलामा बाढी आउँदा सडक अवरुद्ध हुने समस्या हटेको छ ।

Comments

Leave a comment