काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै हुनुहुन्थ्यो । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उहाँले न कुनै काम गरेर कमाउन सक्नुहुन्थ्यो, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक, प्यासले आलसतालस सडकमा बसिरहेका आमा–छोराको अबस्थाबारे स्थानीय व्यक्तिमार्फत सामाजिक सञ्जालमा सार्वजनिक भयो । त्यही सूचनाका आधारमा मानवसेवा आश्रमले दुई दिनअघि आमा–छोराको उद्धार गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा दुवैमा कोरोना पोजिटिभ देखियो । आश्रमका प्रवक्ता सुमन बर्ताैला पछिल्लो समयमा यसरी उद्धार गरिएका बेसहाराहरुमा कोभिड–१९ सङ्क्रमण देखिन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म यसरी सडकबाट उद्धार गरिएका १३ जनामा सङ्क्रमण देखिइसकिएको छ ।

सङ्क्रमितलाई आश्रमको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । सडकपेटीमा बस्ने र खानेकुरा टिपेर खाने बेसहारा, मनोरोगी तथा असहायमा पनि कोभिड–१९ देखिँदा उनीहरुको व्यवस्थापनमा थप चुनौतीपूर्ण बनेको छ । सडकका बेसहारा सङ्क्रमित भएकाले उद्धारमा खटिएका अभियानकर्मीमा समेत सङ्क्रमणको जोखिम बढेको छ । सेवाकै क्रममा केही सङ्क्रमित भएकाले उनीहरुको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ । विगतमा अन्य सर्वसाधारण नागरिकलाई कोरोना लाग्दा राजधानीका सडकका बेसहारामा देखिएको थिएन । साउनपछि भने देखिन थालेको हो । कसरी उनीहरुमा सङ्क्रमण गयो भन्ने यकिन भएको छैन ।

 

Comments

Leave a comment